बोक्सी कुप्रथा विरुद्धको सामाजिक फिल्म ‘अग्निदहन’ मंसिर ७ मा आउदै
बुटवल । बोक्सी कुप्रथा विरुद्धको सामाजिक सन्देश दिने फिल्म ‘अग्निदहन’को प्रदर्शन मिति तय गरेसंगै निर्माताहरुले प्रमोशनल टुरलाई तिब्र बनाएका छन् । २०७५ सालमै अवार्ड प्राप्त गर्न सफल फिल्मलाई वर्षौं लामो पर्खाइपछि निर्माताले मंसिर ७ गते फिल्म रिलिज हुने घोषणा गरेका हुन् ।
शनिबार देखि मोफसल यात्रामा निस्किएको फिल्म ‘अग्निदहन’ राष्ट्रपति कार्यालयमा समेत प्रदर्शन गरिएको थियो । यो फिल्मलाई देशब्यापी च्यारिटी स्क्रिनिङ गरिएको छ । आइतबार पोखरा पछि बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बिशिष्ठ संरक्षक मोहनराज पौडेलले आफु व्यवसायिक रुपमा पैसा कमाउन भन्दा पनि सामाजिक कुप्रथा बिरुद्ध फिल्म मार्फत अभियान लिएर आएको बताउनुभयो । उहांले काठमाडौँ जाने क्रममा बाटोमा देखिएको बोक्सी कुप्रथालाई टपक्क टिपेर फिल्म बनाइएको समेत बताउनुभयो ।
त्यस्तै निर्देशक घनश्याम लामिछानेले ‘बोक्सीको आरोपमा धेरै महिलाहरुमाथि अनैतिक कार्य, कुटपिट, लाञ्छना, आरोप लागाउने काम भएको छ, त्यस्ता सत्य घटनालाई सामाजिक कथाको रुपमा फिल्मले उतार्ने प्रयास गरेको बताउनुभयो । नेपाली फिल्मलाई पछिल्लो समय दर्शकले अपार माया दिएकै कारण यो सामाजिक अभियान सफल हुन्छ भन्नेमा आशावादी रहेको निर्देशक लामिछानेले बताउनुभयो । निर्देशक लामिछानेले डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको उल्लेख गर्दै ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ भन्नुभयो । ‘उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उहांले भन्नुभयो । ‘मान्छे कोही पनि बोक्सी हुँदैन’ भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको लामिछानेको भनाइ छ । फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताउदै निर्देशक लामिछानेले फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको जानकारी गराउनुभयो ।
चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले तिलोत्तमामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेता प्रकाश घिमिरेले फिल्मको सामाजिक अभियानमा जोडिन पाउदा खुसि ब्यक्त गर्नुभयो । यो एक परिवारका बालबालिका, बिद्यार्थी, अभिभावक, र अभियन्ताहरुले समेत हेर्नैपर्ने सामाजिक फिल्म भएकाले सबैको माया पाउनेमा आशाबादी रहेका उहांले बताउनुभयो । आफुले अहिले सम्म गरेको कथा भन्दा फरक रमाइलो र हेर्ने पर्ने चलचित्र ‘अग्निदहन’ बनेकोले सबै दर्शकले माया गरिदिन आग्रह समेत गर्नुभयो । फिल्म टोली पोखरा, बुटवल हुँदै चितवन पुगेको छ भने हेटौडा, झापा लागायतका जिल्लामा पुगी दर्शक र पत्रकार भेटघाट कार्यक्रम गर्ने निर्देशक घनश्याम लामिछानेले बताउनुभयो ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला ताम्राकार तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।