बुटवल । हिजो (शनिबार) बिहान देखि हराइरहेको दुध बोक्ने गाडी रूपन्देहीको भैरहवा स्थित घाघरा खोलामा फेला परेको छ ।
रूपन्देहीको सम्मरीमाई बाट दुध बोकेर भैरहवातर्फ आइरहेको भे १ च २६७६ नम्बरको जीप शनिबार बिहानदेखि हराइरहेको थियो ।
जीपका चालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता रहेका रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले जीप फेला परेको जानकारी दिनुभयो ।
एसपी राठौरका अनुसार फेला परेको गाडी क्रेनले निकाल्ने प्रयास भइरहेको र बेपत्ता चालक र सह–चालकको खोजी भइरहेको छ ।
सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट शनिबार बिहान ५ बजे दुध लिएर भैरहवा तर्फ आउने क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट सो जीप हराएको आकलन गरिएको थियो ।
शनिबारदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरे पनि आइतबार मात्रै जीप फेला परेको हो ।