बुटवल । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको निधन भएको छ । बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक कार्कीको शनिबार निधन भएको हो ।
लामो समयदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित ७० वर्षीय कार्कीको पाल्पा तानसेन ध्रुवाघाटमा आफैले संचालन गरेको रोज रिसोर्टमा निधन भएको हो । मिर्गौला प्रत्यारोपणको तयारीमा रहनुभएका कार्कीका एक श्रीमती भगवती, छोरी निरु, बन्जु र छोरा सरोज छन् । कार्कीका कान्छा छोराको केही वर्षअघि मृत्यु भएको थियो ।
पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै कार्कीले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गर्नुभएको थियो । २०४५ सालमा दैनिक लुम्बिनीको प्रकाशन सुरु गर्नुभएका कार्कीले त्यस अघि जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गर्नुभएको थियो ।
पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भएका कारण तत्कालिन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि कार्कीले आफ्नै सहोदर दाई कृष्णबहादुर कार्कीको सहयोगमा नवलपरासी जिल्लाको परासीमा दैनिक लुम्बिनी दर्ता गगर्नुभएको थियो । कार्कीको शनिवार नै तिलोत्तमाको योगिकुटी स्थित मगरघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।