काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी कारवाही गरेको छ ।
रास्वपा अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
रास्वपा अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गर्दै कार्यान्वयन गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
देशका विभिन्न जिल्ला घुमेर महामन्त्री ढकालले तयार पारेको प्रतिवेदनमा रास्वपा संकटउन्मुख भएको निष्कर्ष निकालिएको थियो । सोही विषय अनुशासन विपरीत ठहर गर्दै पार्टीले ढकाललाई कारबाही गरेको हो ।
केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न सक्ने निर्णय गरेको छ ।
असार २० गते बुधबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्ताबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।
आफुलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गर्नुभएको थियो ।