बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापा मगरको चक्कु प्रहार गरी हत्या भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका वडा नं.७ निवासी राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्व सदस्य ३६ वर्षीय युवा थापाको उपचारका क्रममा मंगलबार निधन भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो ।
युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतका अनुसार गएको जेठ २ गते बुधबार साँझ बुटवलकै कालिकानगरमा रहेको एक रेष्टुरेण्टमा कार्यरत रहेको अवस्थामा थापामाथि छुरा प्रहार भएको र घाइते भइ उपचारका क्रममा निधन भएको थियो ।
एउटा जुझारु र उर्जाशिल युवाको अल्पायुमा भएको निधनले हामीलाई अत्यन्तै पीडाबोध गराएको र घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको युवा संघका जिल्ला अध्यक्ष बस्नेतले बताउनुभयो । घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
रेष्टुरेण्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्था हुंदा समेत हालसम्म घटनामा संलग्न ब्यक्तिहरु पक्राउ नगरिएको प्रति युवा संघले गुनासो गरेको छ । प्रहरी अनुसन्धान प्रति पनि प्रश्नचिन्ह खडा हुनेगरी गतिविधि भएकाले संघले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतको भनाइ छ ।
‘अनुसन्धान मार्फत अपराधीहरुलाई सजाय दिने काममा ढिलासुस्ती र लापरवाही भएको खण्डमा युवा संघले कडा कदम चाल्ने विषय समेत प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाही गर्न युवा संघ रुपन्देहीले माग गरेको छ ।
प्रहरीले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले थापाको हत्या भएको र यसबारेमा अनुसन्धान अघि बढेकाले छिटै घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइने बताउनुभयो ।
