नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा १ महेसपुरमा स्वः पृथ्वीराज कंडेलको स्मृतिमा निर्माण गरिएको बस पार्कको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।
बसपार्कको शनिवार उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बसपार्कमा रहेको स्वः कँडेलको अर्धकदको सालिक पनि अनावरण गर्नु भयो ।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले संसदमा प्रतिपक्षको भूमिका अब शसक्त बनाउने जिकिर गर्नु भयो । सभापति देउवाले, प्रतिपक्षको भूमिका प्रति तमाम प्रश्नहरु उठिरहेको हुँदा अब पार्टीले प्रतिपक्षको भूमिका थप शसक्त बनाई अगाडी बढने बताउनु भयो ।
उहाँले पार्टी अब जनजीविकाको सवालमा समेत केन्द्रित हुने बताउनुभयो । देउवाले महेसपुर मूल भन्सार भएपनि विभिन्न पुर्वाधार र जनशक्तिको अभावले पुर्ण रुपमा संचालन आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने समेत जिकिर गर्नु भयो ।
कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी दिनु भयो ।
स्वः पृथ्वीराज कण्डेल पूर्वगृहराज्य मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता हुन् । उहाँकोे स्मृतिमा बसपार्कको नाम स्वः पृथ्वीराज कण्डेलको नामबाट नामाकरण गरिएको र अर्धकदको सालिक समेत निर्माण गरिएको आयोजक समितिले जनाएको छ । स्वं कँडेल २०१५ सालमा पाल्ही माझखण्ड पूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुन् । २ कठ्ठाबढि क्षेत्रफलमा फैलिएको उक्त बसपार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट एक करोड रुपैया बजेट विनियोजन भई काम भएको हो ।
बसपार्क निर्माणमा देखिएका जटिलताहरु पाल्हीनन्दन गाउँपालिका र पूर्व गृहराज्य मन्त्री देवेन्वद्रराज कण्डेल लगायतले सहजीकरण गर्नु भएको थियो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकै स्थानमा उभिनुपर्ने बतानउनु भयो । कार्यक्रममा पुर्व मुख्यमन्त्री डिल्लि बहादुर चौधरी, प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, देवकरण कलवार, अब्दुल रज्जाक, पुर्व सांसद प्रमोद यादव र विभिन्न पालिकाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।