‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’
बुटवल । यातायात मजदुर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वर्ण महोत्सवका अवसरमा स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन तथा मूल समारोह गरिएको हो ।
स्वर्ण महोत्सवको अनावरण गर्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले यातायात मजदूर तथा व्यवसायी भलाई कोषले ठूलो संख्यामा रहेका मजदूर र व्यवसायीको हितमा काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । भलाई कोषले व्यवसायी तथा मजदूर वर्गको आर्थिक सुरक्षामा खेलेको भूमिका उच्च रहेको उहाले बताउनुभयो ।
त्यस्तै स्वर्ण महोत्सव तथा साधारणसभाको एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै प्रमुख खाणले मजदुर र ब्यवसायी समेटेपछि संस्था सबल बन्दै गएको र दुर्घटना न्युनीकरणको अभियानमा समेत प्रभावकारी काम हुन सकेको बताउनुभयो । दुर्घटनापछि हुने झण्झटिलो कानुनी प्रक्रियालाई सहजीकरण गर्न, मजदूर र व्यवसायीको आर्थिक नोक्सानीमा संस्थागत सहकार्यका माध्यमबाट कोषले आफूलाई अगाडि बढाउँदै लगेको उहाले बताउनुभयो।
कार्यक्रममा बोल्दै संस्थाका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले भलाई कोषको विगतदेखि वर्तमानसम्मको अवस्थाबारे चर्चा गर्दै मजदूरहरुको हितको लागि भनेर स्थापना गरिएको भलाई कोषमा समयक्रमसँगै व्यवसायीलाई पनि आवद्ध गराएर संस्था बिस्तार गर्न सकिएको बताउनुभयो । त्यसो नगरिएको भए संस्था अहिलेको अवस्थामा नआउने समेत उहाले बताउनुभयो ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले ब्यावसायिक हकहितका लागि निरन्तर संस्था लागेको बताउँदै समयसापेक्ष दुर्घटना न्युनीकरणलगायत रचनात्मक कार्यक्रम समेत गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सरकारले निजी क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटनाकै कारण सडक अवरुद्ध देखि विभिन्न आईपर्ने समस्या समाधानमा कोषबाट योगदान मिलेको बताउनुभयो। सडक दुर्घटनालाई न्युनीकरण गर्ने अभियानमा ट्रफिक प्रहरी सधै साथ लिएर अघि बढ्न तयार रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पुर्व कोषाध्यक्ष नगेन्द्र गोविन्द श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेपाली काग्रेसका क्षेत्र न. २ का क्षेत्रिय सभापति प्रजापाल गिरि, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, राप्रपा नगर अध्यक्ष निरजप्रताप खाँड, पश्चिम नेपाल बस व्यवसायी संघका पुर्व अध्यक्ष तुल्सीराम बन्जाडे, नेपाल औषधि ब्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष माधव खनाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठ, कोषका पुर्व अध्यक्ष चिन बहादुर गुरुङ, खुद्रा ब्यवसायी संघका अध्यक्ष महेन्द्र पोखरेल, प्राचीन कपिलवस्तु यातायात प्रालिका सचिव राजु श्रेष्ठ, संस्थाका वरिष्ठ उपाध्यक्ष छबिलाल थापालगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र सिह श्रेष्ठ, दामोदर ज्ञवाली, विजय प्रसाद लाकौल, भक्ति शर्मा लगायतको परिवारलाई सम्मान गरिएको थियो । यसैगरी लामोसमय यातायात सेवा गरेका उमेर हदबन्दीका कारण सवारी चालक अनुमतिपत्र नविकरण नभएका दुई जना चालकहरु नवराज फुल्लेल र ठाकुर अधिकारीलाई नगद ५–५ हजार रुपैयाँबाट सम्मान गरिएको छ । यसैगरी जेष्ठ चालकहरु विजय न्यौपाने, रंजित पाण्डे अनुशासित चालक अनिल शाहीलाई सम्मान गरिएको छ । यसैगरी कोषका पुर्व अध्यक्ष कुमार थापालाई अभिनन्दन, कोषमा २५ वर्ष भन्दा लामो अवधि काम गरेका कर्मचारीलाई सम्मान गरिएको छ । स्मारिका प्रकाशन, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवललाई लाईट ज्याकेट वितरण, उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण गरिएको महासचिव योग गुरुङले बताए ।
यसैबिच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले स्वर्ण महोत्सवको अवसरमा कार्यालय परिसरमा स्वर्णस्तम्भ अनावरण गर्नुभएको थियो ।
