तिलोत्तमा । छैटौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्साट्रेक ओभल क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो । शनिबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा बोस्टन क्रिकेट क्लब, झापा विजयी भएको छ । उसले स्टार क्रिकेट एकेडमी, भैरहवालाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको स्टार क्रिकेट एकेडमीले निर्धारित २५ ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल बनायो । उसका लागि निरज मौर्यले २८, प्रदिप सहानीले १०, प्रिन्स पालले ८ र आसमान थारु र नन्दलाल चाईले समान ७ रन बनाए । वलिङतर्फ बोस्टनका दिवस खड्का र दिवान्स वास्तोलाले ३–३ र दिपु भुजेल र अरविन पौडेलले समान १–१ विकेट लिए ।
१०४ रनको लक्ष्य पछ्याएको बोस्टनले ७ विकेटको क्षतिमा सजिलै जित हात पार्यो । उसको जितमा आशिष राना मगरले ४४, अरविन पौडेलले १५, गौरव निरौलाले ११, आयुश कार्की अलिस मन्डल र दिवस खड्काले समान ५–५ रनको योगदान गरे । वलिङमा स्टारका प्रिन्स पालले ३ तथा निराजन भट्टराई, शुभम खनाल, शुभम पाण्डे र निरज मौर्यले समान १–१ विकेट लिए ।
चैत्र २० गतेसम्म चल्ने प्रतियोगितामा मुलुकका विभिन्न ठाउँका ८ वटा टीम सहभागी छन् । प्रतियोगितामा बिजेता टिमले ५० हजार र उपबिजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, उत्कृष्ट खेलाडीलाई ५ हजार, बेस्ट ब्याटर र बलरलाई ३–३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक स्टार क्रिकेट एकेडेमीले जनाएको छ । आफ्ना बुवाको स्मृतिमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्रतियोगिताको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुभएको हो ।