बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रबि लामिछानेलाइ जोगाउने प्रपञ्चमा लागेको आरोप लगाउनु भएको छ । क
कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका नेता कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा बोलेको कुरामा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो ।
युगपुरुष स्व. गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवल १२ तामनगरमा निर्माण गर्न लागेको भवनको शिलान्यास गर्न आउनु भएका नेता कोइरालाले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुनेमा समेत जोड दिनुभयो ।
पीडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तरराष्ट्रिय समुदायले पनि यसबारेमा उठाएका सवाल सुन्न माओवादी तयार हुनु पर्ने र सत्ताको मोलमोलाई मात्र टिआरसी नटुंगिने दाबी गर्नुभयो ।
कांग्रेसलाई दोष दिएर माओबादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै गठबन्धन तोडिनुमा कांग्रेसको कुनै हात नरहेको बताउनु भयो । नयाँ गठबन्धनले कुन धारामा टेकेर के के गर्छ त्यो भने हेर्दै जाने उहाँको कथन थियो । उहाँले गृहमन्त्री रबि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो ।
राजनीतिमा नैतिकताको खडेरी रहेको भन्दै उहाँले सहकारीमा आफै दोषि देखिएका लामिछानेले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताउनुभयो । बिबादमा तानिएपछि यसअघि धेरैले पद त्यागेको स्मरण गर्दै कोइरालाले भन्नुभयो– इतिहास हेरौँ, रामशरण महत, बिष्णु पौडेल, जर्नादन शर्मा, गोकुल बास्कोटा, कृष्णबहादुर महराले पद छाडेर सहयोग गर्नु भएको थियो।
उहाँले महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषि भने धरौटीमा रिहा हुनु रहस्यमय रहेको उल्लेख गर्नुभयो । नेता कोइरालाले कांग्रेस अब एक्लै चुनाब लड्ने र कसैकौ बैशाखी नटेक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा कांग्रेस नेताहरु अब्दुल रज्जाक, डा गोविन्दराज पोख्रेल, गंगा शाही, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्व केन्द्रिय सदस्य बाबुराम राना, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाँण, पाल्पा कांग्रेस सभापति हिमालदत्त श्रेष्ठ, बिष्णु पोखरेल,रुपन्देहीका पुर्वसभापति रामचन्द्र ढकाल, पुर्वसांसद प्रमोद यादव, बुटवल नगर सभापति खेलराज पाण्डेय, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाँण, पाल्पा कांग्रेस सभापति हिमालदत्त श्रेष्ठप्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य,केन्द्रका उपाध्यक्ष काजिमान श्रेष्ठ, महासचिव परमानन्द भट्टराइ , बालकृष्ण पौडेल लगायतले बाेल्नु भएको थियो।