बागलुङ । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ । मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ ।
रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।
घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले बताए ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकले भने, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेको उद्धार गरेर अस्पताल पठाइएका छौँ, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांशको अवस्था ‘क्रिटिकल’ छ ।” थाहा खबरबाट