भैरहवा । सहिद दिवसका अवसरमा सिर्जनशील साहित्यिक समाज (सिसास) रूपन्देहीले कवि तथा साहित्यकारहरुलाई सम्मान गरेको छ ।
भैरहवामा ८३ औँ सहिद दिवस तथा सिसासको २० औँ वार्षिकोत्सवमा सिर्जनशील श्री फाइनान्स पुरस्कारबाट नगद रु १५ हजार ५ सय ५५ सहिद डाक्टर मुरारी पराजुली सम्मानित हुनुभएको छ । सिर्जनशील साहित्यिक पुरस्कारबाट माटो कविता सङ्ग्रहका सर्जक तथा सिर्जनशील साहित्यिक समाज (सिसास) का निवर्तमान अध्यक्ष शशि पन्थी नगद रु २१ हजार रुपियाँ सहित सम्मानित हुनुभएको छ ।
त्यसैगरी सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट डा. टंक पन्थ नगद रु ११ हजार १ रुपियाँ सहित सम्मानित हुनुभयो । सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट नगद ५ हजार ५ सय ५५ नगद सहित राजेश कुमार चौधरी, सिर्जनशील छबिलाल साहित्यिक पुरस्कारबाट रु २ हजार १ सय सहित केशब शर्मा बेल्बासे, सिर्जनशील साहित्यिक समाजले सिक्किम भारतका कवि तथा पत्रकार अमर लाछिकाठि गुरुङलाई नेपाली भाषाको क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरेको छ । सिर्जनशी काशी प्रतिभा पुरस्कारबाट साक्षि शुक्ला नगद रु ५ हजार सहित सम्मानित हुनुभएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकार ऋषिराम भुसालले भैरहवा भाषा साहित्यको लागि उर्वर भूमि भएको बताउनुभयो । भैरहवा भूपि शेरचन देखि अहिलेसम्मका लागि उर्जावान गर्व गर्न लायक भएको उहांले बताउनु भयो । सहिदहरुले जीवन र मृत्यु रोज्दा अन्त्यमा संघर्षमय मृत्युलाई रोजे, भुसालले भन्नुभयो–“आफूलाई बिसर्जन गरेर एउटा नयाँ सिर्जनाको बिजारोपण गरेर बिदा भए, सहिदहरुको बाटोमा हिँडेमा उनीहरुप्रति सच्चा सम्मान ठहर्छ ।”
कार्यक्रममा प्रा.डा. कपिलदेव लामिछानेले साहित्य सिर्जना आत्मसन्तोषको विषय भएको बताउनुभयो । २० वर्षको समयसम्म सिसासले धेरै स्रष्टा सम्मान गरेर राम्रो काम गरेको बताउंदै उहांले नेपाली भाषा साहित्यले देशलाई चिनाउने भनाई राख्नु भयो ।
सम्मनित भएका स्रष्टा डाक्टर मुरारी पराजुलीले रुपन्देहीको साहित्यको इतिहासमा भैरहवाले सदैव नेतृत्व गरेको उल्लेख गर्नुभयो । यस क्षेत्रमा मोदनाथ प्रश्रित, भूपि शेरचन, बूँद रानाहरुका कारण भैरहवाले साहित्यमा उचाई प्राप्त गरेको उहांले बताउनु भयो । भैरहवाको तुलनामा बुटवल अंगाडी हुन नसकेको बताउँदै साहित्यकार पराजुलीले भन्नुभयो–“बुटवल आफैमा बटुली भाग्ने केही गर्नका लागि स्वार्थ रहने भाग्ने तर भैरहवाका स्रष्टा रैथाने भएका कारण समेत पनि नेपाली भाषालाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ ।”
सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट सम्मानित स्रष्टा डाक्टर टंक पन्थले भैरहवा र सिर्जनशील साहित्यिक समाजले धेरै स्रष्टा सम्मान गर्दै २० औँ वर्षको अबधीमा धेरै साहित्यिक कार्य गर्नु प्रशंसनिय कार्य भएको बताउनुभयो ।
सिसासका अध्यक्ष कमल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्षहरु सुवास रिजाल, सुरज घिमिरे, छबिलाल न्यौपाने, साहित्यकारहरु वनमाली निराकार, रुद्र ज्ञवाली, उमेश चन्द्र रिजाल, सिसासका निवर्तमान अध्यक्ष शशि पन्थी, सम्मानित स्रष्टाहरु केशव शर्मा बेल्वासे, राजेश कुमार चौधरी लगायतले मन्तब्य राख्नुभएको थियो । सिसासका उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तब्य र सचिव विष्णु प्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
