निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको आयोगले जनाएको छ । आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आग्रह गरेको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन आयोगले गएराति १२ बजेपछि मतदानकार्य समाप्त नहुन्जेलसम्म निर्वाचनको प्रचारप्रसार निषेध (मौन अवधि) कायम गरेको छ।
प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।
प्रचारप्रसार निषेधको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी गराउनु भयो।
निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ।
निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को ब्यवस्था बमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरुमा आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्न आयोगले निर्देश गरेको छ।
आगामी फागुन २१ गतेदेखि रिक्त हुन लागेको १९ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो। कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। निर्वाचनमा सत्तारुढ गठबन्ध र एमाले राप्रपा गठबन्धनबाट ५१ जना उम्मेदवार छन्।
राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ।
हाल कायमा प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन्। निर्वाचनको परिणाम आजै साँझसम्ममा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।