बुटवल । बुटवल उपमहानगरपालिका–९, कालीकानगर स्थित सुजुकीको मोटर पार्ट्स गोदाममा सोमबार आगलागी भएको छ । बुटवल राजमार्ग चौराह नजिकै अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा भिषण आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
गोदाममा दिउँसो करिब साढे १२ बजेदेखि लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना तथा सिद्धार्थनगर नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण भने आइसकेको छैन । नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक पण्डितका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि घटना बारे थप अनुसन्धान जारी रहेको छ । पसलका सञ्चालक स्याम सापकोटाले भने २ करोड बढीको क्षति भएको हुनसक्ने दाबी गर्नुभएको छ ।