भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । पालिकाले ११ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग सहायता सामग्री वितरण गरेको हो । पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई पालिकाले ट्राई साईकल, ह्वील चियर र बैशाखी बितरण गरेको छ ।
१४ जना मध्ये ३ जना कार्यक्रममा उपस्थित नभएका कारण प्रदान नगरिएको र आबश्यक्ताका आधारमा पछि प्रदान गरिने पालिकाले जनाएको छ । आर्थिक अवस्था र शारिरीक अवस्था कमजोर भएका व्यक्तिहरु पनि सहजरुपमा हिँडडुल गर्न सकुन् भन्ने उद्देश्यले पालिकाले सहायता सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले महिला बिकास शाखा मार्फत ९ वटा ट्राई साईकल र १÷१ वटा ह्वील चेयर र बैशाखी प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष घिमिरे सहित उपाध्यक्ष तारा थारु, प्रमुख प्रशाशकिय अधिकृत ऋिषिराम पन्थीले एक कार्यक्रमका बीच अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायता सामग्री बितरण गर्नुभएको हो । पालिकाले गत वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वापत ७ वटा ह्वील चियर र एउटा बैशाखी वितरण गरेको महिला विकास शाखा ईन्चार्ज लक्ष्मी कार्कीले जानकारी दिनुभयो ।