बुटवल । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले चियापान कार्यक्रम गरी मनाएको छ । सोमबार बिहान बुटवल ७ मा रहेको विपि बाटिकामा चियापान कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईएको हो ।
चियापान कार्यक्रममा बोल्ने पार्टीका नेताहरुले बी पी ले लिएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भनाई राखे । संविधानको रक्षा तथा कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माणका लागि राष्ट्रभित्रका सबै शक्ति मिल्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले संविधानको रक्षा तथा त्यसको कार्यान्वयन, देशको विकास र समृद्धिका लागि देशमा रहेका सबै शक्ति मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भयो ।
क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य तथा पार्टीकी लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, बुटवल नगर सभापति खेलराज पाण्डे, नेता युवराज गिरी लगायतले जनताको जीवनमा सकारात्मक परिवर्तन गर्नु राजनीतिको मूल कार्यभार भएको र त्यसलाई पूरा गर्न पार्टी भित्रैको आन्तरिक तथा अन्तरपार्टी बेमेल र मतभेदलाई अन्त्य गर्न जरूरी रहेको भनाई राख्नुभयो ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएर काँग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री बी पी कोइराला लगायतका नेताहरुलाई जेल हालिएको थियो । २०२५ कात्तिक १४ गते जेलमुक्त भएपछि भारतमा निर्वासन जीवन बिताईरहेका बी पी कोइराला लगायतका नेताहरु २०३३ साल पुस १६ गते आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किनु भएको थियो । त्यसयता काँग्रेसले पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।