बुटवल । नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दलबहादुर विरकट्टाले मगर समुदायवाट निर्वाचित सांसदहरु मगर भाषा र संस्कृतिको रक्षामा गम्भिर नभएको टिप्पणी गर्दै सांसदहरु सडकमा छाडेका साँढे सरह भएको आरोप लगाउनु भएको छ ।
सह अध्यक्ष विरकट्टाले सडकमा छाडेको साँढेले नजोत्ने काम गर्छ नत त्यसको कुनै काम हुन्छ त्यस्तै मगर समुदायवाट निर्वाचित सांसदहरु पनि साँढे जस्तै हुन् भन्दै उनीहरुको आलोचना गर्नुभयो ।
शनिवार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङंमाहुने नेपाल मगर संघको बृहत मगर जनसभाको वारेमा जानकारी गराउन शुक्रवार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सह अध्यक्ष विरकट्टाले मगर सांसदहरु मगरहरुको पक्षमा नभएको टिप्पणी गर्नु भयो ।
संम्बिधानमा व्यवस्था भएको कुरालाई कानुन बनाएर कार्यान्वयन गर्न नसक्दा मगर समुदायको हक अधिकार सुरक्षित हुन नसकेको धारणा उहांले राख्नु भयो । उहाँले पूर्ण समानुपातिक प्रतिनिधित्व, सामथ्र्य र पहिचान सहितको संघियता मगरात प्राप्तीको लागि आन्दोलित हुन थप उर्जाशिल हुने संकल्प गर्दै लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अविलम्ब कार्यान्वयन गराउन दाङमा हुने जनसभा दवावमुलक जनसभा भएको समेत बताउनु भयो ।
कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासामा जवाफ दिदै सह अध्यक्ष विरकट्टाले संघीयताको मुलमर्म अनुसार काम नहुदा यसको विरुद्धमा आवाज उठन थालेको र जनताले संघीयतालाई आडम्बर र फ्रोस्रोको संज्ञा दिन थालेको बताउनु भयो ।
संम्बिधानका प्राप्त उपलब्धिहरुको रक्षा गर्दै आत्मसम्मान सहितको जातीय पहिचानका लागि एक जुट हौ भन्ने मूल नाराका साथ हुने जनसभामा ५० हजार मगर हरुको उपस्थिति हुने आदीवासी जनजाती पत्रकार महासंघका रुपन्देही अध्यक्ष सोनु थापाले बताउनु भयो । नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष आनबहादुर सोतीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव थर्क बहादुर बाह्रघरेले कार्यक्रमको वारेमा प्रकाश पार्नु भएको थियो ।