बुटवल । हिन्दुहरुको महान पर्व बडा दशैंलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले सराय नृत्य प्रदर्शन गर्ने भएको छ ।
लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने तथा सँस्कृति संरक्षणका लागि टेवा पुग्ने गरी यही कार्तिक १७ गते होटल पौवाको योगिकुटी शाखाबाट सराय नृत्यको प्रारम्भ गरिन लागेको होटलका प्रवन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
यही कार्तिक १७ गते साँझ ४ बजेदेखि होटल परिसरमा आयोजना हुने नृत्यका लागि गुल्मीको पल्लीकोटबाट २५–३० जनाको टोली बुटवल आउने छ । सराय नाच संगै परम्परागत खानाका परिकारहरु समेत राखिने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।
दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लाहरुमा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरिएको प्रवन्ध निर्देशक ज्ञवालीले बताउनु भयो ।
प्रवन्ध निर्देशक ज्ञवालीका अनुसार होटल पौवाले यो वर्षको दशैंलाई उत्सवको रुपमा मनाउन र नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन योगीकुटी सहितका तीन वटा भैरहवा र भालुवाङ शाखामा परम्परागत लिङ्गे पिङ राखिएको छ ।
कार्यक्रममा होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले ‘नेपालका लागि नेपाली आतिथ्यता’–भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट सेवा दिइरहेको जानकारी गराउनु भयो । गौतमका अनुसार कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् ।
विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड विष्णु भण्डारीले बताउनु भयो । पर्यटन प्रवद्र्धनमा देशको कला, संस्कृति, रहनसहन, भेषभुषा, खानपिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै भण्डारीले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको दाबी गर्नुभयो ।
होटल पौवाले नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गर्दै आइरहेको र संस्कृतिको संरक्षणका लागि खिर, तीज, माघी, शिवरात्री, नयाँ वर्ष र क्वाटी खाने जस्ता पर्वलाई निरन्तरता दिदै सामाजिक कार्यमा समेत सरिक हुदै आएको छ ।
नेपाली खानाको प्रमोशन गर्दै आईरहेको पौवाले कुनै समुदायको विशेष परिकारलाई आम नेपालीलाई पस्कने र १०० वटा शाखा विस्तार गर्ने लक्ष राखेको छ ।