बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा पर्शुराम ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
केन्द्रीय निर्देशन अनुसार यहि असोज २७ गते हुन लागेको पार्टीको उपचुनावमा संस्थापन ईतर समूहको तर्फबाट बुधबार बुटवलमा उम्मेद्वार घोषणा सभाको आयोजना गरी रिक्त रहेको क्षेत्रीय सभापतिमा कार्यवाहक सभापति रहनुभएका ढकाललाई अगाडि सारिएको घोषणा गरिएको हो ।
क्षेत्रीय सभापति हरि लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त भएको थियो । रिक्त पदमा उपासभापति ढकाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।
त्यस्तै रिक्त रहेको सहसचिव पदमा नरबहादुर रजालीलाई अगाडि सारिएको छ । सहसचिवमा निर्वाचित राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि सो पद रिक्त भएको थियो ।
संस्थापन इतर समूहले सहसचिवमा अगाडी सारेका रजाली पार्टीको १४ औं महाधिवेशनमा संस्थापन समूहबाट नगर सहसचिव पदमा उम्मेदवार बन्नुभएको थियो ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्टी जनाउंदै सभापति हरि लम्सालले २०७९ वैशाख ९ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिनुभएको थियो । सभापति लमसालको राजीनामापछि उक्त पद विगत १८ महिनादेखि रिक्त छ ।
सहमति बाटै उम्मेदवारको टुंगो लगाउने प्रयास विफल भएपछि सभापति पदका लागि ढकाललाई अगाडि सारिएको इतर समूहको भनाई छ ।
असोज २७ गते हुने सभापतिको निर्वाचनमा ६७२ प्रतिनिधिले मतदान गर्नेछन् । संस्थापन पक्षबाट क्षेत्रीय सचिव रहनुभएका प्रजापाल गिरी सभापतिको उम्मेदवार बन्ने सम्भावना बढी छ ।
संस्थापन इतर समूहमा सभापति पदका लागि ढकाल सहित शरद भट्टराई, नेत्र भट्टराई र कृष्णप्रसाद बेलवासेले दावी गर्नुभएको थियो । आकांक्षीहरु वीच भएको वार्ता पछि ३ जनाले ढकालको नाममा सहमति जनाएपछि इतर समूहबाट सभापतिमा ढकालको नाम घोषणा गरिएको हो ।
सो अवसरमा बोल्दै ढकालले पार्टीलाई एकताबद्ध, गतिशील र आउँदो निर्वाचनमा बढीभन्दा बढी सिट ल्याउने योजनासहित आफू सभापतिमा उठ्न लागेको बताउनुभयो । पार्टीभित्र रहेका असन्तुष्टि हटाउने र पार्टीलाई एक ढिक्का बनाउने आफ्नो प्रमुख भूमिका हुने ढकालले उल्लेख गर्नुभयो ।
उम्मेदवारी घोषणा सभामा पार्टी नेताहरु रामबहादुर कार्की, रोमणिप्रसाद पाठक, दीर्घबहादुर केसी, गोविन्द लम्साल, रमा अर्याल, चित्र केसी, खेलराज पाण्डे, शरद भट्टराई, नेत्र भट्टराई, कृष्ण बेलवासे, वडा सभापतिहरु जितबहादुर मल्ल, दिनानाथ गिरीलगायतले ढकाल र रजालीलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो ।