बुटवल । रुपन्देहीका उद्योगी ब्यवसायीले नेपाल विद्युत प्राधिकरणले एकलौटी र अन्यायपूर्ण रुपमा ट्रंकलाइन विलिङको नाममा उद्योगीबाट बक्यौताका नाममा करोडौं रकम असुल गर्न लागेको बताएका छन् । विद्युत प्राधिकरणले बुटवल–भैरहवा करिडोरका उद्योगहरुमा एकलौटी, अव्यबहारिक र अन्यायपूर्ण ढंगले ट्रंकलाइन विलिङको नाममा करोडौं रकम असुल उपर गर्न लागेको प्रति उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् ।
रुपन्देही उद्योग संघले आइतबार संघमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि उद्योगी ब्यवसायीले राज्यले उद्योगी व्यवसायीमाथि अन्याय गरेको बताए । नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा करिडोरका उद्योगी ब्यवसायीहरुलाई एकलौटी रुपमा ताकेता गरेको ट्रंकलाइन विलिङले समस्यामा पारेको रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बताउनु भयो ।
बुटवल–भैरहवा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले ३३ केभी औद्योगिक विद्युत प्रसारण लाइन मार्फत नियमित उद्योग व्यवसाय सञ्चालन गर्दै आएको र प्राधिकरणबाट जारी भएको बिलको महशुल समयमै भुक्तानी गरिएको संघका अध्यक्ष पौडेलले बताउनु भयो ।
प्राधिकरणले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन खपत गरेको भनी झण्डै ४ वर्षपछि २०७६ फागुनमा सो अबधीको बिल दरमा ६६÷६७ प्रतिशत वृद्दि गरी महशुल भुक्तानीका लागि ताकेता गरेपनि उक्त महशुल तिर्न नसक्ने उद्योगीहरुले बताएका छन् । प्राधिकरणले छुट बिल जारी गरेपछि समस्या उत्पन्न भएको र समस्यालाई समाधान गर्न रुपन्देही उद्योग संघको पहलमा मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते विद्युत नियमन आयोगलाई विवाद निरुपणका लागि निर्देशन दिएपनि अहिलेसम्म समस्याको निराकरण नहुंदा उद्योगी व्यवसायीले आफुहरु अन्यायमा परेको गुनासो गरे ।
विद्युत महशुल नियमावली २०७३ ले दैनिक २० घण्टा वा सो भन्दा बढी विद्युत उपभोग गर्न पाउने गरी निवेदन दिइ स्वीकृत भएका उद्योगीले मात्र ट्रंकलाइन सरहको महशुल बुझाउनु पर्ने व्यवस्था छ । तर रुपन्देहीका उद्योगहरुले सो बिद्युत खपत नगरेको र ट्रंकलाइन सम्बन्धि छलफल र सहमति नभएकाले ट्रंकलाइन विलिङको महशुल अब्यहारिक भएको रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोराले बताउनु भयो ।
उद्योगहरुलाई ट्रंकलाइन सेवा जडान भएको भनिएको अबधीको विद्युत प्राधिकरणले पटक–पटक प्रकाशित गरेको औद्योगिक ग्राहक लोडसेडिङ तालिका अनुरुप उद्योगहरुले चरम लोडसेडिङको मार भोग्नु परेको उद्योगीहरुको भनाइ छ । उच्च अदालत बुटवल इजालसमा दर्ता भएको मुद्दा पनि हालसम्म विचाराधिन अवस्थामा रहंदा समस्या भएको उद्योगीहरुको भनाइ छ ।
प्राधिकरणले एकाधिकारको चरम दुरुपयोग गरी न्याय र कानुनको अवहेलना गरेको रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले अहिलेको अवस्थामा सबै क्षेत्र समस्यामा परेको र आमजनतामा निरासा छाएको बताउंदै उद्योगी व्यवसायीका समस्याप्रति पत्रकारिताको क्षेत्रबाट राम्रा कामका लागि सहयोगी बन्ने प्रतिवद्दता जनाउनु भयो ।