काठमाडौं । मूल्य बृद्धिको चौतर्फी बिरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्दि फिर्ता गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएपछि नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ ।
देश, विदेशबाट सरकारको बिरोध हुनुका साथै सडक र सदनबाट पनि मुल्यवृद्धिको बिरोध हुने संकेत देखेपछि सरकार बाध्यतामा परेर मुल्यवृद्धि फिर्ता गरेको हो ।
नेपाल आयल निगमले बृद्धि भएको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेगरी साविककै मूल्य कायम गरिएको जनाएको छ । प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुनेगरी हाल भएको मूल्य मुल्यवृद्धि स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको नेपाल आयल निगमले जारी गरेको सूचनामा उल्लेख छ ।
शनिबार राति १२ बजेबाट लागु हुनेगरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आइतबार बिहान आफूसँग सल्लाह नगरी इन्धनको मूल्यवृद्धि गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आयल निगमसंग असन्तुष्टि जनाउनु भएको थियो ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।