काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुभएको हो ।
यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको माओवादीले गत साउन तेस्रो साता राजधानीमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहांका अनुसार “अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ ।”
पार्टी अध्यक्ष प्रचण्डले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ ।
अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।