काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ७ सय १० जनालाई नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिमा मनोनयन गरेपछि असन्तुष्ट बनेका नेबिसंघका नेताहरूले आज पार्टी सभापति देउवा निवास घेराऊ गर्ने भएका छन् ।
नेपाल बिद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले हालै मनोनित गरेको केन्द्रीय सदस्यमा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई प्रहरी परिचालन गरी सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन ।
नेविसंघका असन्तुष्ट समूहका बिद्यार्थी नेता योगेन्द्र रावलका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट बिद्यार्थी नेताहरुले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुनर्बिचार गर्न दबाब दिइनेछ ।
असन्तुष्ट समूहको नेतृत्व गर्ने बिद्यार्थी नेता रावल पछिल्लो पटक गरिएको मनोनयनमा परेका छैनन् ।
