बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकाष्पद रहेको दावि गर्नुभएको छ । उहाँले सुन लगायत बिभिन्न भ्रष्टाचारका काण्डहरुमा नाम जोडिएका नेताहरुलाई सरकारले जोगाउने प्रपञ्च गरिहेको आरोप समेत लगाउनु भयो ।
पछिल्लो समय चर्चामा रहेको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको उपमहासचिव ज्ञवालीले आरोप लगाउनु भयो ।
स्व. जीवराज आश्रीतको ८० औं जन्मजयन्तीको अवसरमा बुधबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञवालीले सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गर्दै उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने अडान दोहो¥याउनु भयो । सुन तस्करी प्रकरणको सही अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति बनाउनुको विकल्प नभएको उहाँको कथन थियो ।
नेता ज्ञवालीले मुलुकको आर्थिक अवस्था प्रति सरकार गम्भीर नभएको टिप्पणी गर्दै मुलुकले ईतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने उल्लेख गर्नु भयो । ‘ईतिहास मै पहिलोपटक राजश्वले कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्था सिर्जना भएको छ, निर्माण व्यवसायीको काम पूरा भएको ८० अर्ब बढी भुक्तानी सरकारले दिन सकेको छैन’–उपमहासचिव ज्ञवालीले भन्नु भयो–‘तर सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’
सरकारले सत्ता टिकाउनका लागि नेपालको असंलग्न परराष्ट्र नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखीच्याप्ने प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौति समेत थपिएको उपमहासचिव ज्ञवालीले उल्लेख गर्नु भयोे ।