बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु गरेको छ ।
बुटवलको वडा नम्बर ३ चिडियाखोलाबाट खोज र नष्ट गर अभियान शुरु भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो ।
अभियान अन्तरगत चिडियाखोलाको बस्तीमा पानी जम्ने स्थान तथा लार्भा बस्न सक्ने स्थानको खोजी गरी नष्ट गरिएको छ । अभियानका क्रममा वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालले अभियानलाई घरघरमा पुर्याउनुपर्ने बताउनुभयो । उहांले घरमा पानी जम्ने र घरको छत तथा अन्य क्षेत्रमा पानी जम्ने स्थानमा पानी जम्न नदिन वडावासीलाई आग्रह गर्नुभयो ।
अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्थानीयसहितको सहभागिता रहेको थियो । अभियान १९ वटै वडामा नियमित रुपमा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो ।