बुटवल । टोल वासीलाई नक्कली लालपूर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
बुटवल–११ न्यु दुर्गानगर टोल विकास संस्थाले टोल वासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र गैरकानुनी रुपमा रकम संकलन गरेको सूचनाका आधारमा मंगलबार दिउसो पुगेको उपमहानगरपालिकाको टोलीले टोल विकास संस्थाको कार्यालयबाट नक्कली लालपूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।
टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपमहानगरपालिका भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिनुभयो । टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर जग्गासम्बन्धि काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिने उहांले बताउनु भयो ।
स्थानीय ललिता गुरुङका अनुसार टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको छ । टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुले जग्गाको लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाएको गुरुङले बताउनु भयो ।
