भैरहवा । नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६८ औं वर्षगांठको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा वृक्षरोपण गरेको छ । समाजले सोमबार भैरहवा बहुमुखी क्याम्पस परिसरमा धुपी, गोलमोहर, जरुल, बिरेन्द्र फुल, अमला, कल्की, कपुर आदि जातका बिरुवा रोपेको हो ।
सो अवसरमा लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु हु बेनले विश्व शान्तिको पवित्र भूमि लुम्बिनीमा शान्ति कामना गर्न अत्यन्तै खुसी लागेको बताउनुभयो । उहांले चीनले विश्वमा शान्ति चाहेको भन्दै नेपालमा पनि शान्ति कायम होस् भन्ने कामना गर्नुभयो ।
नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीनसंग नेपालको सम्बन्ध जनस्तरमा थप विस्तार गर्न आफ्नो संस्थाले चीनका महत्वपुर्ण अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनलकुमार झा, लुम्बिनी बुद्ध युनिभर्सिटीका अनुसन्धान निर्देशक डा.गीतु गिरी, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, महासचिव मनिष जोशी, प्राध्यापक इन्द्रबहादुर थापालगायतले वातावरण संरक्षणमा बृक्षरोपणको महत्वबारे चर्चा गर्नुभएको थियो ।