बुटवल । लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क गरिदिने भएको छ । सरकारले गरेको यो निर्णयले लुम्बिनी प्रदेशभर अब आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको हो ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश पहिलो हो । आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले जानकारी दिनुभयो ।
कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागू गरिने स्वास्थ्यमन्त्री खनालले बताउनु भयो । यसका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आँखाको नानी प्रत्यारोपणका लागि अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि बन्दै गरेको पनि मन्त्रालयले जनाएको छ ।
