काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक काठमाडौंमा सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बसेको छ ।
क्रियाशील सदस्यता वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको नेताहरुले जनाएका छन् ।
आज र भोलि (शुक्रबार) सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने छ । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल हुने तय भएको छ ।
बैठकमा बोलाउनुअघि जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको बिषय, विधान बमोजिम गर्नु पर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी संचालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको थियो ।