अर्घाखाँची । अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । पहिरो पुरिएर एक जना घाईते भएका छन् ।
मृत्यु भएका तीनैजना बालबालिकाको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको पाणिनी गाउँपालिका–१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उहांका वर्ष १० का नाती धनबहादुर रास्कोटी,वर्ष १२ का खुमबहादुर रास्कोटी र ११ वर्षकी नातिनी मञ्जु रास्कोटीको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । घरका अन्य सदस्य भने उठेर गोठको काममा गएका हुनाले उनीहरु जोगिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।