बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियारले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले जनप्रतिनिधिहरुलाई पार्टीप्रति जवाफदेही बन्न पनि आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले शनिबार बुटवलमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सहमहामन्त्री परियारले अहिले भएका कामको दशौं वर्षपछि पनि उत्खनन् हुन सक्ने भन्दै ऐन, कानुन, बिधि र पद्धतिको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभएको हो ।

त्यस्तै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका राम्रा कामको प्रचार प्रसार गर्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीका केन्द्रीय नेतादेखि कार्यकर्तासम्मले अनुशासनको पालना नगर्दा अराजकता पनि बढ्दै गएको बताउँदै उहाँले पार्टीलाई एउटा विधि र पद्धतिमा अगाडी बढाउनु पर्ने भनाई राख्नुभयो । पार्टीलाई विधि र पद्धतिमा अगाडी बढाउनको लागि आफूसमेत सम्मिलित समितिले आन्तरिक मर्यादाक्रम बनाएर पार्टीमा बुझाएको जानकारी गराउँदै त्यसलाई चांडो भन्दा चांडो छलफल गरेर टुंगो लगाउनु पर्ने भनाई राख्नुुभयो । लामो समयदेखि पार्टीको केन्द्रीय समितिको बैठक बस्न नसकेका कारण धेरै कुराहरु थाती रहेको पनि उहाँको भनाई छ ।
त्यस्तै पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीका भातृ संगठनहरुमा देखिएको विवाद तत्काल समाधान गर्न केन्द्रीय समितिलाई आग्रह गर्नुभएको छ । उहाँले भातृ संगठनहरुको विवादले पार्टीमा समेत समस्या भएको बताउँदै समस्या समाधानको लागि गम्भिर बन्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तालाई एक आपसमा समन्वय गर्न र सहयोग हुनेगरी गतिबिधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका कार्यवाहक सभापति पर्शुराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठ, कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, प्रदेश सभा सदस्य जमुना ढकाल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य दीर्घबहादुर केसी (कुमार), रामबहादुर कार्की, बालकुमारी भण्डारी, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, बुटवल नगर सभापति तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्षेत्रीय उपसभापति खड्गबहादुर महत, सचिव विमलराज भट्टराई, कोषाध्यक्ष हिमाल गैरे, तरुणदलका सचिव रमेश शाहीलगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
क्षेत्रीय सम्मेलन विथोल्दै पार्टीको मुख्य ब्यानर च्यातियो

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन आशन ग्रहणको विषयलाई लिएर केही बेर तनावग्रस्त बन्यो ।
जिल्लामा संस्थापन पक्षको नेविसंघ र इतर पक्षको नेविसंघ क्रियाशिल रहेका छन् । सम्मेलनमा दुवै पक्षले आशन ग्रहणको अपेक्षा गरेका थिए । तर आयोजकले कुनै एक पक्षलाई आशन ग्रहण गराउंदा विवाद उत्पन्न हुनसक्ने भन्दै कसैलाई पनि आशन ग्रहण गराएन । तर, संस्थापन पक्षका केही युवा आफ्नो समूहलाई आशन ग्रहण गराउन दवाव दिन पटक पटक मञ्चमा गएका थिए । युवाहरुको दवावका वावजुद कार्यक्रम संचालक क्षेत्रिय सचिव विमलराज भट्टराईले आफ्नै गतिमा कार्यक्रमलाई अगाडी बढाए ।
आशन ग्रहण संगै राष्ट्रिय गान, मौन धारण, स्वागत मन्तब्य र कोषाध्यक्ष हिमाल गैरेको आर्थिक प्रतिवेदन प्रस्तुत भए ।
बुटवलको अम्रपाली होटलमा भएको सम्मेलनमा कार्यक्रम संचालक भट्टराईले मन्तब्यका लागि जिल्ला पार्टी सभापति रामकृष्ण खाँणलाई मन्तब्यका लागि मन्चमा बोलाए । सभापति खाँणले मन्तब्य ब्यक्त गरिरहंदा हल शान्त थियो । जब सभापति खाँण आफ्नो मन्तब्य सकेर हलबाट निस्किए पछि खाँण समर्थक नेपाल विद्यार्थी संघ(नेविसंघ) रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेलगायतका युवाहरु होहल्ला गर्दै मञ्चमा पुगेर सम्मेलनको मूल ब्यानर निकाले । सो क्रममा आशन ग्रहण नगराएको भन्दै होहल्ला गर्दै विवाद गर्ने युवा र आयोजकका विचमा केहीवेर तनावपुर्ण स्थितिको सिर्जना भयो ।
केहीवेरको तनावपुर्ण स्थिति पछि आयोजकले पुन ब्यानर टाँगेर कार्यक्रमलाई अगाडी बढाउन खोजेका वेला पुन संस्थापन पक्षका नेविसंघका युवाहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै पुन ब्यानर निकालेर च्यातेको आयोजकले बताएका छन् । सो क्रममा संस्थापन पक्षका विद्यार्थीहरुले आयोजक पक्षका केही पदाधिकारीलाई हातपात गर्दै कुर्ची तोड्ने प्रयास समेत गरेको आयोजकको आरोप छ ।
आयोजकका अनुसार नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा आमन्त्रण नै नगरिएका व्यक्तिहरुले आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएका हुन् ।
कार्यक्रम बिथोलिएपछि कार्यक्रमका प्रमुख अतिथि सहमहामन्त्री परियारले जिल्ला सभापति खाँणलाई फोन गरेर पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेका थिए । स्थिति तनावपुर्ण वनेपछि कार्यक्रम स्थलमा प्रहरी परिचालन गरेर क्षेत्रीय सम्मेलनलाई निरन्तरता दिइएको थियो ।