काठमाण्डौ । आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्नुभएको विनियोजन विधेयक पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो ।
त्यस्तै, मत दिन्नँ वा तटस्थमा शून्य मत परेको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । मतदानमा २५५ जना सांसद सहभागी भएका थिए । ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीहरूले बजेटको विपक्षमा मत हालेका थिए ।
जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफल सकिएसँगै बजेट पारित भएको हो । यसअघि विशेष गरी सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राख्दै आएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको हो ।
सभामुख घिमिरले हुन्छ वा हुन्न भन्ने ध्वनि मतका आधार घोषणा गर्नुभएकोमा एमालेका सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गर्नुभयो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेपछि मत विभाजन गरिएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरे ।
वजेट पारित भएसँगै आउँदो साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ । गएको जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।