दाङ । लुम्बिनी प्रदेश सभामा आजदेखि सरकारले ल्याएको बजेटमाथि छलफल हुदैछ । आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०÷०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो । तर बजेटमाथि सत्तापक्षीय सांसदहरूले असन्तुष्टि जनाएपछि बैठक स्थगित गरिएको थियो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीले आफू केन्द्रित बजेट ल्याएको भन्दै सत्ता पक्षकै प्रदेश सभा सदस्यहरूले बिरोध गर्दै बजेट सच्चाएर ल्याउन माग गरेका थिए । लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।