बुटवल । उद्योग ब्यापार संघ बुटवलले पांचौं स्थापना दिवस मनाएको छ । कालिकानगर स्थित संघको सचिवालयमा संघको कार्यसमिति र सल्लाहकारहरुको सहभागितामा स्थापना दिवस मनाइएको हो ।
सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष एवं उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र ब्यापार विविधिकरणमा संघले भूमिका खेल्नुपर्ने बताउनुभयो । बैंकहरुको कर्जाको ९० प्रतिशत हिस्सा सीमित व्यवसायिक घरानामा लगानी हुंदा मुलुकको अर्थतन्त्र संकटमा परेको भन्दै महासचिव पराजुलीले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
संघका कार्यवाहक अध्यक्ष विष्णु पाण्डेले साना, मझौला र ठूला सबै वर्गका उद्योगीव्यवसायीको साझा संस्थाको रुपमा उद्योग ब्यापार संघ बुटवलले पहिचान बनाएको बताउनुभयो । संघले स्थानीय सरकारसंगको सहकार्यमा विभिन्न सामाजिक काम समेत गर्दै आएको र हालसम्म ४ वटा औद्योगिक ब्यापार मेला सम्पन्न गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, महासचिव पदम जीसी, कानुनी सल्लाहकार दामोदर घिमिरे लगायतले वर्तमान आर्थिक मन्दी, चर्को बैंक ब्याज दर र महंगी नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको थियो ।
यसैबीच संघले स्थापना दिवसको अवसरमा तिलोत्तमा–७ स्थित अनाथ असहायहरुलाई पालन पोषण गर्दै आएको सिर्जनशील संस्थाको भवन निर्माणमा संघका पुर्व अध्यक्ष एवं सल्लाहकार खेम श्रीस मगरको स्मृतिमा आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको महासचिव पदमजीसीले जानकारी दिनुभयो । महासचिव जीसीका अनुसार संघमा ७ सय बढी उद्योगी व्यवसायी आवद्ध छन् ।
