बुटवल । नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा तानिएका एमाले सचिव टाेपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका अर्घाखाँची बाट निर्वाचित सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् ।
प्रहरी स्रोतका अनुसार बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडेका रायमाझी राति ९ बजेपछि सम्पर्कविहीन भएका हुन । रायमाझीले भैरहवाबाट काठमाडाैं जान बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेकाे बुझिएकाे छ ।
प्रहरी स्रोत भन्छ ‘राति ९ बजेपछि उहाँ सम्पर्कविहीन हुनुभएकाे छ । माेबाइल पनि अफ गरिएकाे छ’ । ‘सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेकाे छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ । पक्राउ परेका सन्दिपलाइ बुधबार भैरहवा प्रहरी हिरासतमा राखी आज बिहान काठमाडौ लगिएको छ ।
जिल्ला अदालत काठमाडौंले रायमाझीका बाबुछोरालाई पक्राउ गर्न बुधबार पुर्जी जारी गरेको थियो ।
याे प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् । प्रहरिले अहिलेसम्म ८ जनालाइ पक्राउ गरिसकेको छ ।