गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । सत्यवती गाउँपालिका–४ लिम्घा शाहीटोला निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार घाँस काट्ने क्रममा खरवारीमा लागेको आगोमा परी घाइते भएको अवस्थामा शाहीलाई स्थानीयले फेला पारेका थिए । उनलाई उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए ।
इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक यमलाल बञ्जाडे र प्रहरी चौकी जोहाङ्गबाट प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाटसहित घटनास्थलमा पुगेको टोलीले घटना स्थलको मुचुल्क उठाएर शवलाई श्रृङ्गा स्वास्थ्य चौकीमा लगेर पोष्ट मार्टम गरिएको थियो । पोष्ट मार्टम पछि मृतक शाहीको आजै अन्तिम संस्कारको तयारी गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।