बुटवल । रुपन्देहिका एक युवाको पाल्पाको दोभानस्थित भूतखोलामा डुबेर मृत्यु भएको छ ।
रुपन्देहीबाट नयाँ वर्ष मनाउने क्रममा घुम्न गएका ती युवाको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुत खोलामा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैसवाल रहेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । उनी नयाँ वर्ष मनाउने भन्दै शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पुगेका थिए ।
भूतखोलाको पोखरी हेर्ने क्रममा ढुंगामा चिप्लिएका शिभम एक्कासी पोखरीमा खसेका थिए । साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि त्यसअघि नै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।