तिलोत्तमा, २८ भदौ । किसानले लगाएको धानखेतीमा समस्या देखिन थालेसंगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले किसानहरुको धानखेतीमा समस्या देखिएकोले शिविर सञ्चालन गरेको बताउनुभयो ।
किसानहरुले लगाएको धान पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसंगै रोगको पहिचान सहित उपचारको प्रवन्ध मिलाउनको लागि शिविर सञ्चालन गरिएको प्रमुख खाँणले बताउनुभयो । उहांले यहाँ देखिएको समस्याको रिपोर्ट अुनसार नगरपालिकाले तत्काल केही व्यवस्थापन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका कीट बैज्ञानिक बिनिता शर्माले यस क्षेत्रमा मिलिबग नामक किराको समस्या रहेको बताउनुभयो । उहांले यो रोगको कारणले धानको बिरुवा कमजोर हुने, गाँज हाल्न नसक्ने, पात डढ्ने, पहेँलो र कमजोर हुनेहुँदा यसको समाधानका उपायको बारेमा स्थानीयलाई जानकारी गराएको बताउनु भयो । यो समस्यालाई यो वर्ष नै समाधान नगरे अर्को बाली तथा अर्को वर्ष समेत समस्या सिर्जना गर्ने उहांको भनाई छ ।
यता किसानहरुले पनि मुख्य बाली धान खेतीगर्दा नै समस्या आउँदा जिविकोपार्जनमा समेत समस्या आएको बताएका थिए । उनीहरुले सिचाँई तथा मलको उचित व्यवस्थापनमा स्थानीय सरकारले ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।
तिलोत्तमा नगरपालिका १६ मा भएको बालि उपचार शिविरबाट २ सय बढि किसानहरुले लाभ लिएको तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो ।