बुटवल, ११ भदौ । शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताउनुभएको छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले संविधानको रक्षा र मुलुकको समग्र विकास गर्नको लागि गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गर्नुभयो ।
नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहेका मन्त्री चौधरीले मुलुक सम्मृद्धिको बाटोमा अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालेले कानुनी राज्यको धज्जी उडाउदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नुपरेको बताउनुभयो ।
मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पटक पटक बुटवलको बदनाम गरेको आरोप लगाउदै यो निर्वाचनबाट पौडेललाई पत्तासाफ गर्ने ठोकुवा गर्नुभयो । पौडेलले बालुवाटार प्रकरणदेखि विभिन्न गलत तत्वहरुसगँ साँठगाठ गरेको उहाँले आरोप लगाउनु भयो ।
रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसगँ नेकपा एसका नेता राजु गुरुङ्ग भिड्ने बताउदै उहांले यो निर्वाचनबाट गठबन्धन बिजय हुने दाबी गर्नुभयो ।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र उपाध्यक्ष तेजेन्द्र केसीको संचालनमा कार्यक्रम भएको थियो ।
