बुटवल, २५ साउन । बुटवलमा विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा विजनेश इन्कुवेशन कार्यक्रम सुरु गरिएको हो ।
मंगलबारदेखि सुरु गरिएको विजनेश इन्कुवेशन कार्यक्रम मास्टर क्लास (तालिम)को उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । तालिमले नवउद्यमीलाई ज्ञान र सीप प्रदान गर्ने बताउँदै त्यसबाट सिकेको ज्ञान र सीपको प्रयोगले सवल तथा सक्षम उद्यमीको रुपमा उभ्याउने विश्वास व्यक्त गर्नुभयो ।
यीन चार वटा संस्थाको सहकार्यमा यस अगाडि पनि पहिलो चरणको विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको थियो । त्यो कार्यक्रममा सहभागि भएकाहरु अहिले राम्रो उद्योगीको रुपमा स्थापित भएको अध्यक्ष कसजूले जानकारी गराउनु भयो । यो कार्यक्रम अव तिन महिनासम्म सञ्चालन गरिने छ ।
तालिमको उद्घाटन कार्यक्रममा युवा यद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल, लुम्बिनी वाणिज्य क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतम, अन्तरप्रेरणाकी श्रद्धा शाक्य, सुदृढ परियोजना बुटवलकी संयोजक वेवी शाह, संघका कार्यक्रम अधिकृत तथा विजनेश इन्कुवेशन कार्यक्रमका फोकल पर्शन केशव ढकाल लगायतले विजनेश इन्कुवेशन कार्यक्रमका बारेमा भनाई राख्दै यसबाट लाभ लिन तालिममा सहभागिलाई आग्रह गर्नुभएको थियो । तालिममा सुदृढ परियोजनाले पनि सहयोग गरेको छ ।