बुटवल, ११ साउन । लुम्बिनी बिकास कोषको परिषद बैठकले पर्यटक आगमनलाई बढाउन आगामी मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । बुधवार लुम्बिनीमा कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठक पछि पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले लुम्बिनी गुरुयोजना अनुसारका कामहरु चांडै सम्पन्न गर्ने योजना लिएको बताउनु भयो । लुम्बिनी आउने पर्यटकहरुलाई कसरी सुविधा युक्त बसाई र सहज अवलोकन गर्ने वातावरण निर्माण गर्न सकिन्छ भन्ने बारेमा पनि कार्ययोजना बनाएको मन्त्री श्रेष्ठले बताउनु भयो ।
मन्त्री श्रेष्ठले नेपालका २ वटा महत्वपूर्ण स्थलहरुलाई विश्व सम्पदामा सूचिकृत गराउने प्रयास थालिएको जानकारी गराउनु भयो । धार्मिक र पुरातात्विक महत्व बोकेको तिलौराकोट र जनकपुरलाई विश्व सम्पदामा सूचिकृत गराउने उद्देश्य सहित मन्त्रालय लागेको मन्त्री श्रेष्ठले बताउनु भयो । यस अघि पनि मन्त्रालयले ७३ बुंदे कार्ययोजना अगाडी सारेको थियो ।
भैरहवामा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई थप ब्यवस्थित रुपमा सुचारु गरि बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको उहाँले बताउनु भयो । यसको लागि भ्रमण बर्ष नभई २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अगाडी बढ्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
आज(बुधबार) बसेको परिषद बैठकमा आर्थिक बर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । यस्तै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्नका लागि आवश्यक रणनीति, दस्तावेज, सम्बन्धित अन्य दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम, अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजनाको लागि तदर्थ समिति गठन लगायतका बिषयमा छलफल भएको थियो ।
