नवलपरासी, ११ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को दाउन्नेमा यात्रीवाहक बसमा आगलागी हुँदा २१ यात्री घाइते भएका छन् । दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा बसमा सवार ३३ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो । आगलागीबाट यात्री घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई उत्तरतर्फको सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३३ जना यात्रु सवार थिए ।
प्रहरीका अनुसार घाइतेमध्ये ६ जनालाई उपचारका लागि चितवन भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ भने अरुको स्थानीय मध्यबिन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ ।