तिलोत्तमा, २ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत भएको २६ दिन बितिसक्दा पनि प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण बजेट पारित हुन सकेको छैन । नगर कार्यपालिकामा बहुमतमा रहेको नेकपा एमालेले नगर सभाको बैठकमा न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति गठनको कार्यसूचि समावेश नगरिएको भन्दै विवाद गरेपछि बजेट पारित हुन नसकेको हो ।
चारवटा विषयगत समितिको विषयलाई लिएर नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बैठकमा अवरोध गरेका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन नसकेको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७९\८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार(आज) बोलाइएको १२ औँ अधिवेशनको पाँचौँ नगरसभा बैठक पनि सूचना टाँसेर स्थगित भएसँगै बजेट पारित गर्ने कार्य अवरुद्ध भएको छ ।
बजेट पारित गर्नका लागि आह्वान गरिएको नगरसभाको बैठक स्थगित भएको यो तेस्रो पटक हो । एमालेबाट निर्वाचित नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले पेस गरेको बजेट एमालेकै जनप्रतिनिधिको अवरोधले पारित नहुँदा नयाँ आर्थिक वर्ष शुरु भैसक्दापनि नगरका कुनै पनि विकास निर्माण तथा कार्यलय सञ्चालनका लागि रकम निकासा गर्न नपाइने अवस्थामा सिर्जना भएको छ ।
आइतबार बजेट पारितका लागि बोलाइएको नगरसभा बैठक गणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाँणले स्थगित गरेपछि एमालेका जनप्रतिनिधि नारावाजीमा उत्रिएका थिए । जसका कारण आइतबार दिनभर तिलोत्तमा तनावग्रस्त बनेको थियो ।
एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले उपप्रमुख जागेश्वरी देवी चौधरीको नेतृत्वमा नाराबाजी गर्दै अभद्र व्यवहार समेत प्रदर्शन गरेका थिए । उनीहरुले प्रमुख रामकृष्ण खाँण र प्रमुख प्रशासकिय अधिकृत जीनव ज्ञवालीलाई घेराबन्दी गरेर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
उनीहरुले नगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको कार्यशैली आपत्तिजनक भएको भन्दै आइतबार नै उहांको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
आइतबार गणपुरक संख्या नपुगेर स्थगित भएको बैठक सोमबार(आज) दिउसो १ बजेका लागि बोलाइएको भएपनि एक सूचना जारी गर्दै स्थगित गरिएको थियो । नगरसभा बैठक मंगलबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सूचनामा जानकारी गराइएको छ ।
बैठक स्थगित भएसँगै तिलोत्तमाका राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् । लामो समयसम्म बजेट पारित हुन नसक्दा विकास निर्माणका काम ढिलासुस्ती हुने भन्दै नगरवासीले चिन्ता ब्यक्त गरेका छन् ।