तिलोत्तमा, ३१ असार । रूपन्देहीको तिलोत्तमा नगरपालिकालेको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार दिउसो १ बजेका लागि बोलाइएको १२ औं अधिवेशनको तेस्रो बैठकमा गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख रामकृष्ण खाँणले सभामा बैठक स्थगित भएको जानकारी गराउनु भएको हो ।
नगर प्रमुख रामकृष्ण खाँणले सभाका लागि आवश्यक गणपुरक संख्या नपुगेकोले बैठक स्थगित भएको दिउसो ४ बजे नगर सभालाई जानकारी गराउनुभएको हो ।
नगर सभा बैठकमा बहुमत नगरसभा सदस्यहरूको सहभागिता रहे पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थितिमा हाजिरी नगरेका कारण गणपुरक संख्या नपुगेको हो । ९१ जना नगर सभा सदस्य रहेको तिलोत्तमा नगरपालिकामा नगरसभामा उपस्थित ४१ जना नगर सदस्यहरुले मात्र उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको नगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिकामा बहुमतमा रहेको नेकपा एमालेले नगर सभाको बैठकमा न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति गठनको कार्यसूचि समावेश नगरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेकाकारण नगर सभामा गणपुरक संख्या नपुगेको हो ।
गणपुरक संख्या नपुगेर बैठक स्थगित भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेसबाट निर्वाचित तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकालले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहुमतको दम्भ र अहंकार देखाएर बैठकमा उपस्थित भएर पनि उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेका कारण बैठक स्थगित भएको बताउनु भयो ।
उपस्थिति पुस्तिकामा नगर सदस्यहरुले हस्ताक्षर गर्नेक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले उप प्रमुख जागेश्वरी चौधरीलाई हस्ताक्षर गराउन खोज्दा उपप्रमुख चौधरीले उपस्थिति पुस्तिकानै आफ्नो नियन्त्रणमा लिएको वडाध्यक्ष ढकालको आरोप छ । उपप्रमुख चौधरीले उपस्थिति पुस्तिकानै आफ्नो नियन्त्रणमा लिएर एमालेबाट निर्वाचित नगर सदस्यहरुले उपस्थिति नगरेका कारण नगर सभा वैठक स्थगित गर्नुपरेको वडाध्यक्ष ढकालले बताउनु भयो ।
नेकपा एमालेका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले भने गणपुरक संख्या नपुगेकाकारण बैठक स्थगित नभएको प्रतिक्रिया दिनुभयो । नगर सभाबाट गठन गर्नुपर्ने न्यायिक समिति लगायतका विषयगत समिति गठन गर्नुपर्ने आफुहरुको माग सुनुवाई नभएकोले नगर सभा सञ्चालनमा सहमति जुट्न नसकेको नगर सदस्य श्रीले बताउनु भयो ।
तर नेपाली कांग्रेसबाट निर्वाचित नगर सदस्यहरुले भने नेकपा एमालेले बहुमतको दम्भ र अहंकार देखाएर सहमति जुट्ने कुरामा समेत अड्को थाप्ने, सहमति नगर्ने र जनादेशको समेत अपमान गरेका कारण समस्या उत्पन्न भएको आरोप लगाएका छन् । एमालेकै अवरोधका कारण नगरपालिकाले वजेट पास लगायतका काम अगाडी बढाउन सकिरहेको छैन ।
नेपाल बार एसोशियसन उच्च अदालत बुटवलका पुर्व अध्यक्ष अधिवक्ता महेन्द्र पाण्डेले स्थानीय तहमा संबिधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नगरेको भन्दै निर्वाचित जनप्रतिनिधिले बहुमत र अल्पमतको कुरा गर्न नहुने बताउनुभयो ।
अधिवक्ता पाण्डेका अनुसार जुन दलबाट टिकट पाएर चुनाव जिते पनि जितिसकेपछि सबै जनताको साझा जनप्रतिनिधि भएकोले सोही अनुसारको ब्यवहार गर्नुपर्नेमा विचार ब्यक्त गर्नुभयो । बहुमत र अल्पमतको खेलमा लाग्दा वजेटमा असर पर्न सक्ने भन्दै पाण्डेले कसका कारण पालिकाको विकासमा कस्तो असर पर्यो भन्ने आवधिक निर्वाचनमा जनताले मुल्याङ्कन गर्ने प्रतिक्रिया दिनुभयो । नगर सभाको अर्को बैठक साउन १ गते बस्ने छ ।
