बुटवल, १५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने पर्वका रूपमा अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । यो वर्ष कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाउन लागिएको हो ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसमा खेतमा काम गरी दही च्यूरा खाने चलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला खाएको दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।
नेपाल कृषि प्रधान देश भएतापनि हरेक वर्ष धान उत्पादनमा कमी आउँदा नेपालमा धान–चामल आयात बढ्दो छ । सरकारले उत्पादन बढाउन विभिन्न योजनाहरू ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो १० महिनामा ४२ अर्ब १९ करोडको धान तथा चामल आयात भएको छ ।