बुटवल, १४ असार । बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । मंगलबार विहानैदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट आएको भेलसहितको छहराका कारण सडक अवरुद्ध भएको हो । वर्षाले सडकमाथिबाट आएको छहराको बहाव बढी भएपछि यातायात आवागमन ठप्प भएको छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको अरुण खोलामा पनि सडक अवरुद्ध भएको प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार अवरुद्ध भएका दुबै ठाउँका सडक वर्षा कम भएपछि मात्रै खुल्ने छन् ।
