काठमाडौं, २ असार । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण दिन लागेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आजबाट दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमालेले जनाएको छ ।
एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा बिहीबार ११ बजे प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुने छ ।
पार्टी स्कूल विभागले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित पालिकाका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षहरुको सहभागिता रहने छ । ७५३ स्थानीय तह मध्ये एउटा पालिकामा निर्वाचन सम्पन्न हुन बाँकी रहेको छ भने एमालेले निर्वाचन भएका ७५२ स्थानीय तहमध्ये २०५ पालिकामा प्रमुख र २४० उपप्रमुख जितेको छ ।
एमालेले जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन, नीति र कार्यक्रम कसरी बनाउने, बजेट तथा कानून निर्माण कसरी गर्ने, विकास, सुशासन, जनतासँग सम्बन्धन कसरी स्थापित गर्ने र राष्ट्रिय राजनीतिलगायतका विषयमा प्रशिक्षण दिन लागेको प्रचारविभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो ।