बुटवल, २६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रको एजेन्डा छाडेको बताएका छन् । अध्यक्ष थापाले नेपालमा राजतन्त्र पुनस्र्थापना हुने सम्भावना समाप्त भएकोले आफुहरूले राजतन्त्रको एजेन्डा छाडेको बताएका हुन् ।
राप्रपा नेपाल लुम्बिनी प्रदेश समितिले विहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले असम्भव एजेण्डा लिएर जनतालाई गुमराहामा राख्ने, कार्यकर्ताहरुलाई भ्रम र धोकामा राख्ने काम उपयुक्त नहुने भएकाले आफ्नो पाटीृले राजतन्त्रको एजेण्डा छाडेको बताए ।
असम्भव एजेण्डा बोकेर जाँदा हिन्दु राष्ट्र लगायतका एजेण्डा ओझेलमा परेकाले आफूले भारी मनले राजतन्त्रको एजेण्डालाई परित्याग गरेर लोकतन्त्र, राष्ट्रियता र हिन्दुराष्ट्रलाई मुख्य एजेण्डा बनाएको थापाको भनाई छ ।
‘राजतन्त्र पुनस्र्थापना हुने सम्भावना समाप्त भएको छ । स्वयम राजालाई पनि राजसंस्था पुनस्र्थापना होस् भने चाहाना छ कि छैन भन्ने कुरामा ठूलो आंशका छ । यो स्थितिमा असम्भव एजेण्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्नु हुँदैन् । यसकारणले राजतन्त्रको एजेण्डालाई हामीले भारी मनले परित्याग गरेका हौँ ।’–अध्यक्ष थापाले भने ।
यस्तै नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाउनु पर्ने उनले बताएका छन् । राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुनस्र्थापनालाई मुख्य एजेण्डा बनाएको बताउँदै सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिए ।
‘सकेसम्म सर्वपक्षीय सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने हाम्रो माग छ । यदि सर्वपक्षीय सहमति हुन सक्दैन् भने जनमत संङग्रहबाट धर्मनिरपेक्षता वा हिन्दु राष्ट्र भन्ने बारेमा टुङ्गो लगाइयोस् ।’–उनले भने ।
आग्रामी भदौदेखि हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि देशव्यापि रुपमा जनसंघर्षको कार्यक्रम सञ्चालन गर्ने उनले बताए । जनताबाट निर्वाचित कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने बताउदै उनले वर्तमान संघीय स्वरुपलाई परिमार्जन गरेर केन्द्र र स्थानीय तह गरी दुई तहको स्वरुप कायम गर्नु उपर्युक्त हुने धारणा राखे ।
यस्तै अध्यक्ष थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्नका लागि आफू जहिले पनि तयार रहेको बताए ।
बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्य सहित जनता माझ राप्रपा नेपाल अभियान लिएर देश दौडाहमा हिडेका अध्यक्ष थापाले बुधबार बुटवलमा विभिन्न पेसागत संघ संस्थाका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूसँग अन्तरक्रिया गरेका थिए ।
त्यस्तै राप्रपा नेपालले बुधबार र विहीबार दुई दिन बुटवलमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला समेत गरेको राप्रपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।