तिलोत्तमा, १४ जेठ । तिलोत्तमा नगरपालिका वडा नं. ६ को पश्चिम पहुनी माविमा दुई कोठे भवन शिलान्यास भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको १८ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको शनिवार एक कार्यक्रमका बीच वडा नं. ६ का नवनिर्वाचित अध्यक्ष गणेश पाठकले शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै अध्यक्ष पाठकले पश्चिम पहुनी माविका लागि आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्न आफु र आफ्नो टिम तयार रहेको प्रतिबद्धता जनाउनु भयो । सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा भौतिक विकासका निम्ति वडा तहबाट गर्न सकिने सहयोगको खाका तयार गरी २÷३ दिनभित्रै वडा कार्यालयमा बुझाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाले नयाँ जनप्रतिनिधिले शिक्षाको विकासमा सहयोग पुर्याउनुपर्ने बताउनु भयो । जनप्रतिनिधिको साथ पाए सामुदायिक विद्यालय पनि निजी सरह संचालन हुने र अभिभावकको समेत विश्वास जित्न सकिने बताउनु भयो । उक्त विद्यालयमा शिशु कक्षा देखि कक्षा १२ सम्म नेपाली तथा अंग्रेजी माध्यममा पढाई हुने गरेको छ ।
