बुटवल, १४ जेठ । सरकारले समायोजन गरी तोकेको भाडा दर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सरकारले तोकेको भाडा दर व्यवहारमा कार्यान्वयन हुनुपर्ने माग गर्दै कार्यान्वयन नभए यही जेठ २० गतेदेखि ट्रकहरु घर र ग्यारेजमा थन्काई ढुवानी कार्य बन्द गर्ने निर्णय गरेका छन् ।
एकातर्फ भारतीय ओभरलोडका गाडीहरुका कारण नेपाली यातयात व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ उचित भाडादर कार्यान्वयन नहुंदा पेशा नै संकटमा परेको गुनासो व्यवसायीले गर्दै आएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाईमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा शनिबार बुटवलमा आयोजित दुर्घटना न्युनिकरण तथा भाडा समायोजन ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा समायोजित भाडा कार्यान्वयनका लागि ट्रक व्यवसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आन्दोलनका कार्यक्रमसंगै व्यवसायी संस्थाहरुले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्व रहने गरी अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसंग पनि सहकार्य गरी अघि बढ्ने सहमति भएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए । ट्रक व्यवसायीहरुको पेशा रेड जोनमा पुगेकोले बाध्यभएर ब्यवसायीलाई बचाउनका लागि आन्दोलनमा जानुको विकल्प नभएको पाण्डेको भनाई छ ।
राप्ती ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाले भाडा दर कार्यान्वयन नहुंदा ट्रक व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताए । ढुवानी व्यवसायीहरुले सहयोग गरेमा सरकारले तय गरेको भाडा असुलीमा सहयोग हुने उनको भनाई छ ।
कार्यक्रममा बाणगंगा ट्रक समितिका सचिव लक्ष्मण भुसालले सरकारले तोकेको भन्दा कम दर रेटमा ढुवानी गर्ने ट्रान्सपोर्ट व्यवसायीलाई वहिस्कार गर्नुपर्नेमा जोड दिए ।
ढुवानी व्यवसायी संघ बुटवलका अध्यक्ष श्याम हमालले सरकारले पटक पटक समायोजन गरेको ढुवानी भाडा दर कार्यान्वयन नहुंदा व्यवसायी मर्कामा परेको बताए । सरकारले आफैले तोकेको भाडा दर कार्यान्वयन नहुंदा व्यवसायी मर्कामा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरि कडेलले बताए ।