बुटवल, १३ जेठ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको रुपन्देहीको बुटवल राजमार्ग चौराहदेखि ट्राफिकचोकसम्मको मुख्य सडक मर्मतको काम शुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयको सक्रियतामा लामो समयदेखि खालडा खुल्डी र धुलाम्य अवस्थामा रहेको मुख्य सडक मर्मत तथा कालोपत्रे हुन लागेको हो ।
नगर प्रमुखमा निर्बाचित भएर प्रमुखको कार्यभार सम्हालेको दोस्रो दिनमा नै नगर प्रमुख पाण्डेको सक्रियतामा सडक र सरोकारवाला निकायका बिचमा बैठक बसेर सडक निर्माणलाइ तिब्रता दिने निर्णय भएको थियो ।
नगरकै पहलमा बसेको सरोकारवाला र सर्बपक्षीय छलफलमा बाटो निर्माण गर्ने बिषयमा सहमति जुटेपछि शुक्रबार बिहानबाट बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोक सम्मको सडक तत्काल मर्मत, ढलान तथा कालोपत्रे गर्ने काम शुरु भएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
नगरको पहल र सबैको सहयोगमा आवश्यकताका आधारमा सडक मर्मत, ढलान तथा कालोपत्रे गर्ने काम आरम्भ भएको नगर प्रमुख पाण्डेले बताए । सडक निर्माणका क्रममा राजमार्ग चौराहा स्थित प्रथम सहिद लखन थापाको शालिक वरिपरिको भत्किएको भाग र पुष्पलाल पार्क (अस्पताललाइन)मा ढलान र नाली निर्माण हुनेछ भने बुटवलका सडकमा भएका सबै खाल्डाखुल्डी पुरिनेछ । यस्तै भुड्कीचोकदेखि ट्राफिकचोक भूपिशेरचन चोकसम्मको सडकलाई कालोपत्रे गर्ने प्रकृया अगाडि बढाइउको प्रमुख पाण्डेले जानकारी गराए ।
नगर प्रमुख पाण्डेले भने–‘तत्काल बुटवलका नागरिकलाइ धुलो, धुवाँ र फोहोर मैलाको प्रदुषणबाट टाढा राख्ने योजना रहेको ।’ आफुले सबैलाइ समेटेर जाने प्रकृयाको थालनी गरेको भन्दै प्रमुख पाण्डेले आफ्नो कार्यकक्षमा जननायक वीपी कोइराला र कम्युनिष्ट पार्टीका संंस्थापक पुष्पलालको फोटो राखेको समेत जानकारी गराए ।
सडक निर्माण संगै बुटवल ज्योतिनगरको पहिरो ब्यबस्थापन र करिब १४ हजार अब्यबस्थित सुकुम्बासीलाइ बसोबासका आधारमा प्रमाणपत्र बितारणको प्रकृया समेत छिट्टै पुरा हुने जानकारी दिए ।